गगन र विश्वप्रकाशको कसिलो साझेदारी

Gagan-thapa-and-bishwa-karma-sharma

१३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १ असारको प्रतिनिधिसभा बैठकमा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्रीको जवाफ मात्र मागेनन्, नेपाल सहभागी हुन नदिने अडान लिए ।

उनले भनेका थिए, ‘नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारी, चाहे छिमेकी देश हो, चाहे शक्ति राष्ट्र होस्, नेपाल त्यसमा त्यसमा सहभागी हुन सक्दैन, हुन पाउँदैन, दिइँदैन ।’

महामन्त्री थापा यस्तो बेलामा बोलेका थिए, जतिबेला विपक्षीले एसपीपीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि लगातार प्रश्न उठाएका थिए । थापाले पार्टीमा छलफल समेत नगरी एसपीपीमा सहभागी हुन नहुने अडान राखेपछि कांग्रेस सांसदहरुले पनि अनौठो मानेका थिए ।

तर साँझ अर्का महामन्त्री विश्वप्रकाश शर्मा एसपीपीको मुद्दामा गगनसँगै उभिए । एसपीपी स्वीकार्य छैन भनेर अमेरिकालाई प्रष्ट भन्नुपर्ने भन्दै उनले ट्वीटरमा लेखे, ‘कांग्रेसको धारणा यही बन्नेछ र कांग्रेसको नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ ।’

कांग्रेसका महामन्त्रीद्वयले एसपीपी अस्वीकार गर्ने पत्र लेख्नुपर्ने भन्दै ६ असारमा बालुवाटार पुगेर पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे । भेटमा देउवा महामन्त्रीद्वयले बनाएको सार्वजनिक अडानप्रति सन्तुष्ट देखिएका थिएनन् । दुई महामन्त्रीले वस्तुगत अवस्था जानकारी गराएपछि देउवा एसपीपीमा सहभागी नहुने औपचारिक पत्र अमेरिकालाई लेख्ने निर्णय गर्न बाध्य भए ।

कांग्रेस नेताहरुका अनुसार एसपीपी मात्र होइन, पार्टीको आन्तरिक र राष्ट्रिय राजनीतिका अरु मुद्दामा पनि दुई महामन्त्रीको साझेदारी कसिलो देखिएको छ ।

गत मंसिर २०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनमा गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंह प्यानलबाट महामन्त्री लडेका थिए । महाधिवेशनबाट दुई महामन्त्री निर्वाचित हुने भएकाले शेखर समूहले डा. मिनेन्द्र रिजाललाई अघि सार्‍यो भने देउवाको प्यानलबाट भने डा. प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार थिए ।

अघिल्लो कार्यकालमा प्रवक्ता रहेका विश्वप्रकाश यो पटक देउवा प्यानलमा नअटाएपछि शेखर समूहमा जान चाहे । तर त्यो समूहबाट पनि उम्मेदवार तय भइसकेका कारण प्रकाशमान सिंह समूहमा पुगे ।

ads-2