टीटी खेलाडी उत्पादनमा अग्रणी एभीएम क्लब

AVM_TT-_Club-7

‘मैले धेरै पहिलेदेखि सोचेको कुराले १३औं सागमा सफलता पाएको थियो,’ १३औं सागमा एकलतर्फ कांस्य जितेर टेबलटेनिसको साढे दुई दशक लामो खेलाडी करिअरलाई बिट मारेका बज्राचार्यले अनलाइनखबरसँग भने, ‘यति लामो समयसम्म एभीएम स्कुलले गरेको विश्वासलाई प्रमाणित गर्न सकें । त्यो नतिजाले एभीएम टीटी क्लबका जुनियर खेलाडीहरु प्रेरित भएका छन् ।

झण्डै ६० वर्षको इतिहास बोकेको आदर्श विद्या मन्दिरले सुरुवातदेखि नै खेलकुदलाई प्राथमिकतामा राखेको हो । फुटबल, भलिबल, बास्केटबल, मार्शलआर्ट र टेबलटेनिस मुख्य खेलहरु थिए । सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा आयोजित पाँचौं दक्षिण एसियाली खेलकुदमा नेपालका सिजरिन शाह र गीता क्षेत्रीले महिला टिम स्पर्धामा स्वर्ण पदक जितेका थिए । सिजरिनले एभीएम स्कुलबाटै टीटी करिअर सुरु गरेकी थिइन् । टीटीमा त्यसयता अहिलेसम्म स्वर्ण पदक आएको छैन ।

पूर्व च्याम्पियनहरु पन्नाकाजी शाक्य, सुरेन्द्र सुवाल, कविन सुवाल, नवीन सुवाललगायतका खेलाडीहरु उत्पादन गरिसकेको एभीएम स्कुल नेपाली टीटीको खेलाडी उत्पादनमा तीन शतकदेखि नै अग्रणी भूमिकामा छ । ‘२०५९ सालमा म राष्ट्रिय खेलाडी भइसकेको थिएँ । नवीन सुवाल गुरुकै आग्रहमा मैले एभीएम स्कुलमा प्रशिक्षण सुरु गरेको हुँ,’ बज्राचार्यले स्मरण गरे, ‘२०६३ सालदेखि हामीले यसलाई क्लबको रुपमा स्थापना गरेका हौं । अहिले एभीएम टीटी क्लबको नामबाट प्रतियोगिता खेल्छौं ।’

बज्राचार्यले लामो समय राष्ट्रिय टोलीबाट खेले । साथै एभीएममा आफूले ब्याट समाउन सिकाएकाहरु जुनियर राष्ट्रिय टोलीमा पर्न थालेपछि हौसला बढ्यो । २० वर्षदेखि निरन्तर एभीएम टीटी क्लबको उत्थानमा लागेका उनी भन्छन्, ‘यो मेरा लागि दोस्रो घरजस्तै हो । भाइबहिनीको सफलता नै मेरो खुसी हो ।’